नेपाली पासपोर्ट भारतको तुलनामा दोब्बर महंगो

नेपालको पासपोर्ट विश्वकै कम शक्तिशाली सूचीमा पर्छ। तर यसको मूल्यको हिसाबले छिमेकी देशहरु भन्दा निकै महँगो रहेको पाइएको छ।

३२-पृष्ट लामो पासपोर्ट सामान्य प्रकियाबाट लिनको लागि रु ५,००० तिर्नु पर्छ। सामान्य प्रक्रियाबाट पासपोर्ट लिदा जिल्ला हेरेर कम्तिमा १० दिन देखि ३ महिनासम्म लाग्न सक्छ।

तुरुन्त लिनुहुन्छ भने सामान्य प्रक्रिया भन्दा तीन गुणा बढी पैसा तिर्नु पर्ने  हुन्छ। जस्तै आवेदन दिएकै दिन पासपोर्ट लिन चाहे १५,०००दोस्रो दिन लिन चाहे १२००० र तेस्रो दिन लिन चाहे १०,००० तिर्नुपर्ने हुन्छ। अझै तपाईले विदेशमै पासपोर्ट झिकाउनु भयो भने यो रकमको तीन गुण बढी तिर्नुपर्ने हुन्छ।

आर्थिक हिसाबले हामीभन्दा सम्पन्न भएपनि  नेपालको तुलनामा हाम्रा छिमेकी देशहरुमा पासपोर्ट निकैको शुल्क सस्तो छ। दक्षिणी छिमेकी भारतमा ३६ पृष्ठको पासपोर्टको मूल्य १५०० भारतीय अर्थात् २६०० नेपाली रुपैयाँ छ। ६० पृष्ठ लामो पासपोर्टका लागि भने ३२०० नेपाली रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ। यो मूल्य नेपालको भन्दा झन्डै आधा सस्तो हो।