दिनहुँ बेरोजगारको ५० लाख लुट

स्वदेशमा रोजगारी नपाएर बिदेसिने धुनमा रहेका बेरोजगार युवासँग दैनिक ५० लाख रुपैयाँ हाराहारी ठगी हुने गरेको पाइएको छ ।
वैदेशिक रोजगारीमा गए ‘पैसा टिप्न’ पाइन्छ भन्ने प्रलोभनमा परेका युवासँग मेनपावर र तिनका एजेन्टले ठूलो रकम ठगिरहँदा सरकारी निकाय भने रमिते जस्तै देखिन्छन् । जसरी पनि विदेश जानुपर्छ भन्ने सोच पालेका बेरोजगार युवासँग ठूलो रकम असुली हुँदासमेत ठगी गर्नेलाई कारबाही भने नगन्य मात्रामा हुने गरेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको सुरुको महिना साउनमा मेनपावर र तिनका एजेन्टले १० करोड ८९ लाख रुपैयाँ ठगेको भन्दै उजुरी परेको छ । बेरोजगार ठग्नेमा मेनपावरको तुलनामा एजेन्ट अगाडि छन् । साउनमा मेनपावरले (संस्थागत) ठगेको भन्दै ५ करोड ८ लाख रुपैयाँको दाबी गरिएको छ । त्यस्तै, बेरोजगारबाट व्यक्तिगत (एजेन्ट) तवरले ५ करोड ८१ लाख रुपैयाँ ठगी भएको भन्दै विभागमा उजुरी परेको छ ।
सरकारले वैदेशिक रोजगारीको क्रममा हुने ठगी रोक्न अनेक प्रयास गरे पनि यसमा सुधार आउन सकेको छैन । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि ठगी धन्दा बढिरहेको छ । साउनमा नयाँ र दोहो¥याएर गरी करिब ३४ हजारजना रोजगारीका लागि विभिन्न गन्तव्यमा गएका छन् । त्यो संख्या गत असारको तुलनामा करिब तीन हजारले बढी हो । साउनमा भएको ठगी असारको तुलनामा तीन करोड रुपैयाँले बढी हो ।
विभागका अनुसार वैदेशिक रोजगारीको क्रममा ठगी भएको भन्दै साउनमा व्यक्ति (एजेन्ट) का विरुद्ध ८८ र संस्था (मेनपावर) का विरुद्ध १ सय १५ वटा दर्ता भएका छन् । अधिकांश उजुरीमा सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको, रकम लिएर वैदेशिक रोजगारीमा नपठाएको उल्लेख गरिएको छ ।
त्यस्तै, तोकिएको शुल्कभन्दा निकै बढी रकम असुल गरिएका केही उजुरी पनि विभागमा दर्ता भएका छन् । तीन वर्षअघि सरकारले खाडीका ६ मुलुक र मलेसिया जाने कामदारको हकमा निःशुल्क भिसा र टिकटको निर्णय लागू गरे पनि त्यस्तो सुविधा अधिकांशले नपाएको बताइन्छ । उक्त निर्णयपछि कामदार झनै पीडित भएको श्रमविज्ञहरू बताउँछन् ।
कानुनी रूपमा मेनपावरहरूले प्रतिव्यक्ति १० हजार रुपैयाँभन्दा बढी लिन नपाइने भएकाले कामदारसँग देश र काम अनुसार लाख÷डेढ लाख रुपैयाँ असुल गर्ने अनि रसिद भने १० हजार रुपैयाँको दिने गरेका छन् । जसले गर्दा कामदारले क्षतिपूर्ति माग गर्दा १० हजार रुपैयाँको रसिदलाई नै प्रमाण मान्नुपर्ने बाध्यता छ । कतिपय विज्ञ सरकारले निःशुल्क भिसा र टिकटको निर्णय कार्यान्वयन गर्न÷गराउन सक्दैन भने कामदारलाई हित हुने अन्य बाटो खोज्नुपर्ने सल्लाह दिन्छन् ।
कामदारसँग मेनपावरले जति रकम असुल गरेका हुन् सोही अनुसार रसिद पाएको भए ठगीको रकम अझै धेरै हुने बताइन्छ । वास्तविक रूपमा कामदारसँग ठूलो रकम असुल हुने गरे पनि १० हजार रुपैयाँको रसिदले गर्दा ठगीको आकार सानो देखिएको कामदार बताउँछन् ।
कामदारले वैदेशिक रोजगारीको नाममा ठगीमा परेको भन्दै उजुरी गर्ने क्रम बढे पनि क्षतिपूर्ति पाउने भने निकै कम छन् । साउनमा करिब ११ करोड रुपैयाँ ठगी भएको भन्दै २ सय ३ उजुरी पर्दा विभागले १ करोड ६७ लाख रुपैयाँमात्र पीडितलाई भराउन सकेको छ । विभागले मेनपावरले ठगेको रकममध्ये ५१ लाख ३६ हजार रुपैयाँ र एजेन्टले ठगेको १ करोड १६ लाख रुपैयाँ पीडितलाई भराएको छ ।
वैदेशिक रोजगार ऐन २०६४ ले पीडितलाई क्षतिपूर्ति र न्याय दिलाउन विभागलाई महŒवपूर्ण जिम्मेवारी दिए पनि कर्मचारीले तदारुकताका साथ काम नगर्दा पीडितले न्याय र क्षतिपूर्ति पाउन नसकेको गुनासो गर्छन् । सोही ऐनले वैदेशिक रोजगारीको क्रममा पीडित हुनेलाई बिगोको डेढ गुनासम्म क्षतिपूर्ति भराउन सक्ने अधिकार विभागलाई दिएको छ ।