उराठ् लाग्दो चीन जोड्ने घाँटी

तल नेपाल–चीन सीमारेखा कोरेर बगेको भोटेकोसी नदी  । माथि डरलाग्दो चट्टाने पहाड । बीचमा छ, बिशाल छिमेकी मुलुक चीन जोड्ने अरनिको राजमार्ग । सडक कुनामा पहाड फुटाएर बनेका घरहरु चट्टानले थिचिएका छन् । नदी कटानले तानेर हुत्याएका सडक छेउका घरहरु टुक्रा–टुक्रा भएर भोटेकोसी बगरभरि यत्रतत्र छरिएका देखिन्छन् ।

यो नेपाल–चीन जोड्ने मितेरी पुलको मुखैमा रहेको लिपिङ बजार हो । माथिबाट पहाड फुटेर खसेको पहिरो र तलबाट भोटेकोसी उर्लेर भएको कटानले लिपिङ बजार क्षतविक्षत छ । २०७२ वैशाख १२ को भूकम्पमा पहिरो खसेर तहसनहस भएको भोटेकोसी गाउँपालिकाको तातोपानीमा पर्ने लिपिङ बजार बिस्तारै तंग्रिदै थियो ।

भूकम्पमा बचेका घर, होटल, पसलमा विस्तारै चहलपहल सुरु हुँदै थियो । पहिरो खसेर पुरिएको सडक पन्छाएर सवारी गुड्न थालेका थिए । नाका सञ्चालनमा ल्याउन तातोपानी भन्सार, अध्यागमन, पशु र खाद्य क्वारेन्टाइनका कार्यालय र सुरक्षा इकाइ फर्केका थिए । भूकम्पयता १४ महिना बन्द रहेको चीन नाका खुल्ने संकेत पाएपछि लिपिङ बजार बौरिने तर्खरमा थियो ।

प्रकृतिको प्रहार निर्मम् नै हुने रहेछ ! भूकम्पको एक वर्षपछि २०७३ असारमा तिब्बतको हिमताल फुटेर भोटेकोसीमा आएको बाढीले नाकामा उपद्रो मच्चायो । झण्डै तीन दर्जन घर भोटेकोसीले तान्यो । सडक छिया–छिया पारेर नदीतिरै लछा¥यो । सुन्दर नाका क्षणभरमै तहसनहस हुँदा उराठ् लाग्दो बन्यो ।

बाढीको दुई वर्ष बितिसक्दा नाकाको हालत उस्तै छ, झन् उराठ लाग्दो, एक्लै यात्रा गर्दा डरलाग्दो । सरकारले नाका सञ्चालन गर्न चीनको ध्यानाकर्षण गरारहँदा नदी कटान र पहिरो नियन्त्रणमा सिन्को भाँचिएको छैन । ‘पहिला भुँईँचालो र बाढीले आशा मा¥यो,’ एक दिन नाका बौरिने पर्खाइले थाकेका लिपिङका ५७ वर्षीय गिर्मी शेर्पाले नागरिकसँग भने, ‘अहिले सरकारले सँधैका लागि हाम्रो आशामा लात हान्यो ।’ कतै जाने ठाउँ नभएपछि खण्डहर नाकामा त्रासै–त्रासमा थुनिएर बस्न बाध्य हुनु परेको सुनाए ।

भूकम्प र बाढीले क्षतिग्रस्त चीनतिरका सडक, बजार लगायत संरचना निर्माणले द्रुत गति लिइरहे पनि नेपालतर्फ भने प्रयाससम्म थालिएको छैन । सडक किनारका अझै केही घर कटानमा परेर बग्न तयार अवस्थामा छन् । चट्टाने पहिरोले किचेका घरहरु पहिलेकै अवस्थामा छन् । नेपालतर्फको भू–भाग भोटेकोसीतिर लच्किएको छ । बचेका सडकमा लेउ उम्रिएको छ, कतै चट्टान थुप्रिएको छ । केही संख्याका सग्ला घर र खण्डहरमा झाडी उम्रिएको छ ।

‘एक्लै हिँडडुल गर्न दिउँसै पनि डर लाग्छ,’ बन्द तातोपानी भन्सार गेटमा सीमा सरक्षा दिइरहेका सशस्त्र प्रहरीका एक जवानले भने ।  उनले हिँडडुल गर्न र बस्न जोखिम रहेकाले सुरक्षाकर्मीकै सुरक्षा नभएको बताए । राजमार्गको तातोपानी धारासम्म जसोतसो सवारी साधन चलेपनि त्यमाथि झण्डै पाँच किलोमिटर दुरीको लिपिङसम्म सडक नै छैन ।

ठाउँ–ठाउँमा सडक ट्रयाक टुटेको छ । त्यहाँ आवतजावत गर्न काठ र फल्याक बिछ्याइएको छ । अनगिन्ती पहिरो छन्, सडममा थुप्रिएका । कोदारीमा झण्डै ५ सय मिटर सडक भोटेकोसीमा बगेर ट्रयाक हराएको छ । त्यति नै मिटर माथिदेखि घर, संरचना भोटेकोसीतिर बग्दै गरेका देखिन्छन् ।

स्थानीय भक्तबहादुर नेपालीले सडक अवरुद्ध हुँदा लिपिङ बजार एक्लिएको बताए । हिँडडुल गर्न, बालबालिका विद्यालय आउ–जाउ गनर्, किनमेलका लागि बजार झर्न र बिरामी पर्दा स्वास्थ्य संस्था जान समस्या रहेको उनले सुनाए । ‘सरकारले उपेक्षा गर्दा नाका २०३० सालतिर फर्केको छ,’ स्थायी घर बाह्रविसे भएपनि नाका व्यापार गरी उतै बसोबास गर्दै आएका उनले भने । दुःखले आर्जन गरी उनले लिपिङमा बनाएको घरमा चट्टान थुप्रिएको छ ।

चीनसँग घाँटी जोडेको लिपिङमा सरकारको उपस्थितिको रुपमा सशस्त्र प्रहरी मात्र छन् । भन्सार, अध्यागमन, पशु, खाद्य क्वारेन्टाइन कार्यालय बन्द छन् । बाढी पहिरोबाट बचेको भन्सार र अध्यागमन कार्यालयमा ताला झुन्डिएको छ । नेपाल–चीन व्यापार सम्बन्ध जोड्ने पहिलो र सबैभन्दा चल्तिको नाकाको मुखैमा रहेको लिपिङ बजारको भूकम्प अघिको चहलपहल र अहिलेको उदेकलाग्दो अवस्थाबारे स्थानीय नोगेन शेर्पा भन्छन्, ‘चीन नाकाले दिएको लिपिङको खुसी प्राकृतिक प्रकोपले खोसेर लग्यो ।’

भूकम्प र बाढीले लेखेटिएका स्थानीय फर्केका छैनन् । मजदुरी पाउने लोभले जोखिम मोलेर लिपिङको बचेका घरमा चार परिवार भाडामा बस्छन् । एक किमी तलको कोदारी बजारमा झण्डै ५० मजदुर बसोबास गर्छन् । उनीहरु सडक अवरुद्ध रहेकाले नाका आसपासका स्थानीयको रसद्पानी ओसार्ने काम गर्छन् ।

केही सय रुपैयाँ कमाइ हुने आशमा जोमिख मोलेर बसेका उनीहरु बर्खामा मात्र होइन अन्य समयमा पनि पानी पर्दा र साँझ पर्दा त्रासले कहालिन्छन् । ‘साढे तीन वर्षदेखि त्रासै–त्रासमा बाँचिरहेका छौँ,’ तीन जनाको परिवारसहित लिपिङको भाडाको घरमा बस्दै आएका ५७ वर्षीय पासाङथिलेन शेर्पा भने । भूकम्पले आफ्नो घर भत्काएपछि उनको परिवार भाडाको घरमा बस्दै आएको हो ।

तातोपानी बजारमा खाद्यन्न पाइने भए पनि महंगीले छोइनसक्नु छ । सडक अवरुद्ध हुँदा भरियामार्फत बोकाएर जंघार घुम्दै ल्याएको सामग्री बर्खामा त झन् किनिनसक्नु हुन्छ । कोदारीमाथि चौकीडाँडामा स्थानीयको बाक्लो बस्ती छ । भक्तबहादुरका अनुसार नाका पुगेको एक सिलिन्डर ग्याँसलाई २ हजार र एक बोरा चामलको १ हजार ५ सय रुपैयाँसम्म तिर्नु पर्छ ।

‘भनेजति तिर्न तयार हुँदा पनि कहिले त पाईँदैन,’ उनले दुःखेसो पोखे । मितेरी पुल बन्द छ । पुलको चीनतर्फको मुखमा चिनियाँ सुरक्षकर्मीले सुरक्षा दिइरहेका छन् । रात बिताउन खासा बजार पुग्ने उनीहरु कहिलेकाँकी सीमावासीलाई चामल लगायत खाद्यन्न निशुल्क पठाउँछन् ।